मोरक्कोलाई पराजित गर्दै फ्रान्स फाइनलमा
पाेखरा | मंसिर २९, २०७९
पोखराः साविक विजेता फ्रान्स लगातार दोस्रो पटक फिफा विश्वकपको फाइनलमा प्रवेश गरेको छ । बुधबार अल बेयत रंगशालामा भएको दोस्रो सेमिफाइनलमा मोरक्कोलाई २-० ले हराउँदै फ्रान्स उपाधि भिडन्तमा स्थान पक्का गर्न सफल भयो ।
फ्रान्सको जितमा थिओ हर्नान्डेज र रान्दल कोलो मुआनीले १-१ गोल गरे । खेलको सुरुवातमै अग्रता लिएको फ्रान्सले दोस्रो हाफमा वैकल्पिक खेलाडीमार्फत अर्को गोल थपेको थियो । साविक विजेता फ्रान्सले यस जितसँगै उपाधि रक्षाका लागि फाइनलमा अर्जेन्टिनासँग भिडन्त पक्का गरेको छ ।
खेलको सुरुवाती समयमा नै फ्रान्सले अग्रता लिएको थियो । मोरक्कोले खेलअघि मुख्य डिफेन्डर नाएफ अगुएर्डको साथ गुमाएको थियो भने २० मिनेट नबित्दै कप्तान रोमन साइसको साथ पनि निरन्तर पाउन सकेन । दुवै डिफेन्डर चोटका कारण बाहिरिनु परेको थियो । पछि परेको मोरक्कोले लगातार आक्रमण बुन्दा फ्रान्सले पनि केहि अवसर पाएको थियो ।
दोस्रो हाफमा मोरक्कोले पाएको अवसर पटक पटक सदुपयोग गर्न नसक्दा फ्रान्सले अग्रता कायम राख्यो । खेलाडी परिवर्तन गर्दै फ्रान्सले अग्रता दोब्बर पारेपछि मोरक्को खेलमा फर्कने सम्भावना पातलिएको थियो । अन्त्यसम्म पनि मोरक्कोले आक्रमणमा अवसरको सदुपयोग गर्न नसक्दा हार बेहोर्न पुग्यो ।
खेलको चौथो मिनेटमा हर्नान्डेजले फ्रान्सलाई अग्रता दिलाए । उनले पेनाल्टी क्षेत्रभित्र रिबाउन्डबाट आएको बललाई सुन्दर गोलमा परिणत गरे । गोलरक्षक यासिन बोनोसँग वन भर्सेस वनको स्थितिमा रहँदा उनले भलीमा गोल गरेका थिए ।
१७ औं मिनेटमा ओलिभिएर जिरुडको प्रहार पोस्टमा लागेर बाहिरिंदा फ्रान्स अग्रता दोब्बर पार्नबाट चुक्यो । ३५ औं मिनेटमा जिरुडले नै गोलरक्षक र डिफेन्डर पोजिसनमा नरहँदा बललाई पोस्टको दिशा दिन सकेनन् ।
पहिलो हाफको अन्तिम मिनेटमा मोरक्कोलाई खेल बराबरी गर्न पोस्टले छेक्यो । एल यामिकको एक्रोब्याटिक प्रहारमा गोलरक्षक लोरिस बिट भएपनि उक्त प्रहार पोस्टमा लागेर फर्केको थियो ।
दोस्रो हाफको ७९ औं मिनेटमा फ्रान्सले अग्रता दोब्बर पार्यो । रान्दल कोलो मुआनीले बेन्चबाट मैदान छिरेको एक मिनेट नबित्दै गोल गरे । किलीयन एमबाप्पेले पेनाल्टी क्षेत्र भित्र ४ डिफेन्डर बिट गर्दै गरेको प्रहार मुआनीको अघि आएपछि उनले पहिलो टचमै गोल गरे ।
फ्रान्सले अब उपाधि रक्षाको लागि फाइनलमा अर्जेन्टिनाको सामना गर्नेछ । फाइनल आइतबार हुनेछ ।
एजेन्सीको सहयोगमा
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, पोखराले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्म विभिन्न ७ मुद्दा दायर गरेको छ । अनुगमन एवं निरीक्षणका क्रममा विभिन्न खाद्य उद्योगहरुले न्यूनस्तर खाद्य पदार्...
रुकुम पश्चिम/पूर्वी रुकुम — पृथ्वी होटल व्यवसायी समिति पोखराले सञ्चालन गर्दै आएको “पोखरा जाऔं, प्रकृतिसँग रमाऔं” अभियान अन्तर्गत आज रुकुम पश्चिमको मुसिकोट र पूर्वी रुकुमको रुकुमकोटमा पर्...
कास्की जिल्ला अदालतबाट विभिन्न कसूरमा फैसला भई कैद तथा जरिवाना भुक्तान गर्न बाँकी रहेका २७ जना फरार प्रतिवादीहरूलाई प्रहरीले एकै दिन पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहतका कार्य...

